नेपाली चियाको गुणस्तरमाथि प्रश्न, चिया गुणस्तरीय छ : सरोकारवाला

ईलाम । नेपालबाट जाने चियाको गुणस्तरमाथि भारतले प्रश्न उठाएकामा नेपालका चिया सरोकारवालाले आपत्ति जनाएका छन् । केही दिनअघि भारतीय चिया बोर्डमार्फत नेपालको वाणिज्य मन्त्रालयलाई पत्राचार गर्दै गुणस्तरहीन चिया भारत आयात गरेमा बिक्रेताको खरिद इजाजतसमेत रद्द गर्नेसम्मको प्रावधान लेखेको थियो । भारतले गुणस्तरको विषय उठाए पनि चियाको कुन कुरामा गुणस्तर कम भएको भने खुलाइएको छैन ।

नेपाली चिया सरोकारवालाले भने भारतले नेपालको चियाको उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा ‘ब्राण्ड’ खस्काउनका लागि क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । बोर्डको पत्रमा नेपाली चिया क्षेत्र सङ्कटमा रहेका कारण दार्जिलिङका चिया उद्योगलाई सस्तोमा खरिद गर्न पाएकामा सबैभन्दा बढी फाइदा भएको बोर्डले जनाएको छ । यद्यपि यसले विश्वबजारमा भारतीय चियामाथि प्रश्न उठाएको जनाइएको छ ।

नेपालको चियाको परीक्षणसमेत भारतमा गरिने भएकाले गुणस्तरको विषय पछि उठाउनु गलत रहेको चिया उद्योगी तथा बिक्रेता उदय चापागाईँ बताउँछन् । कोलकातामा ‘सिएफएल’ परीक्षण गरेर चियाको गुणस्तर जाँचपछि मात्रै भारतमा चिया भित्र्याउने भएकाले भारतले नेपाली चियामाथि आरोप मात्र लगाएको चापागाईँको भनाइ छ । दार्जिलिङको चियाको प्रतिस्पर्धी नेपाली चिया मात्र भएकाले भारतले अवरोध खडा गर्न लागेको उनको भनाइ छ । चापागाईँले नेपाल सरकारले चियामाथि चासो नदेखाएकाले यस्ता समस्या आउने गरेकोसमेत बताए ।

भारतले नेपाली चियामाथि प्रश्न उठाउनु नौलो विषय होइन । विगतमा पनि पटक–पटक यस्ता प्रश्न उठेकै हुन् । नेपाली चियाको ठूलो बजार नै भारत रहेकाले पनि भारतले स्वमित्व लिन खोजेको चिया सरोकारवालाको भनाइ छ । चियाको गुणस्तरको विषय उठाउने तर चियाको कुन पक्षमा गुणस्तर कम भएको भनेर नभन्नाले भारतले नेपाली चियामाथि बहानाबाजी गर्न खोजेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईको भनाइ छ । “चियाको कुन पक्षमा कमजोरी हो, त्यसबारे जानकारी गराउनुपर्छ । ल्याब परीक्षणबाट समेत यसका बारेमा जानकारी गराउन सकिन्छ”, राईले भने, “चियाको विषादीजन्य गुण वा जैविक गुण कुन पक्ष कमजोर हो यसका बारेमा भारतले प्रष्ट भनेमा मात्र गुणस्तरको बारेमा जानकारी राख्न सकिन्छ ।”

विगतका वर्षमा पनि विभिन्न देशले नेपाली चियाको गुणस्तरका बारेमा प्रश्न नउठाएका भने होइनन् । आफूलाई आवश्यक पर्ने विषादी वा खाद्यपदार्थ बढी वा कम भएमा विभिन्न देशले विगतमा प्रश्न उठाएका थिए तर चियाको ल्याब परीक्षणपछि प्रश्न उठाएकाले चियामा सुधार गरेर पठाएका उदाहरण पनि छन् ।

भारतीय चिया बोर्डका अनुसार पछिल्लो तीन वर्षमा छ करोड तीा लाख ५० हजार किलोग्राम चिया भारततर्फ आयात गरिएको छ । त्यसमध्ये दुई करोड ३४ लाख ३० हजार किलोग्राम पुनः निर्यात भएको छ । बाँकी तीन करोड ६९ लाख २० हजार किलोग्राम चिया आन्तरिक बजारमा बिक्री गरिएको छ । यद्यपि त्यो नेपालबाट निर्यात भएको चियामा पनि कति चिया गुणस्तरहीन हो भन्नेबारेमा भने खुलाइएको छैन ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment