कोरोनाबाट नेपालमा आज थप तीन जनाको मृत्यु

कोरोना संक्रमणको कारण नेपालमा आज थप तीन जनाको मृत्यु भएको छ।

पछिल्लो पटक पाटन अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएसँगै आज मात्रै ज्यान गुमाउनेको संख्या तीन पुगेको हो।

नवलपरासीका ३७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डाक्टर रबि शाक्यले जानकारी दिए। यसअघि ती पुरुषको पथ्थरीको अप्रेसन गरिएको देखिएको उनले बताए। ‘छातीमा समस्या भएपछि उहाँ ३० साउनमा अस्पतालमा भर्ना हुनु भएको थियो,’ उनले भने, ‘उहाँमा कोरोन पोजिटिभ थियो, उपचारकै क्रममा आज बिहान मृत्यु भयो।’

यसअघि गएराति काभ्रे र बाँकेमा पनि कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु भएको थियो। उनीहरु दुबै पुरुष हुन्।

आज ज्यान गुमाउने तीनसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय १० पुगेको छ। आज ज्यान गुमाउनेहरुको स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न भने बाँकी छ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment