अनिश्चितकालका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं । कोरोनाभाइरस संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र संचालन गरिने भएको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि नेपाल सरकारले दक्षिण कोरियामा मात्र मार्च महिनाभरका लागि कामदारहरु नपठाउने निर्णय गरेको थियो । नेपालीका श्रम गन्तव्य मुलुकहरुसमेत कोरोना भाइरसबाट आक्रान्त भएपछि नेपाल सरकारले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो । संक्रमित बढ्दै गएपछि कोरिया र कतारले विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाइसकेका छन् भने कुवेतले सबै उडानहरु रोकेपछि स्वतः अन्य मुलुकका नागरिक भित्रिन पाएका छैनन् । विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

तेस्रो मुलुकका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा १४ मार्च २०२० देखि ३० अप्रिल २०२०सम्मका लागि स्थगित गरिएको छ । विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले व्यवस्थित भन्सारसहितका नाकाबाट मात्रै स्वास्थ्य परीक्षण गरी आवागमनजको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोभिड–१९ को महामारीबाट बच्न भारतसँग जोडिएका मुख्य नाकाबाट मात्र व्यवस्थित रुपमा आउजाउ गर्न गृह र परराष्ट्र मन्त्रालयले समन्वय गरेर काम गर्ने बताए । उनले संक्रमण देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसन वार्डका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि चाहिने उपकरणको आपूर्ति बढाइने जानकारी दिए । यही चैत १ गतेबाट नेपाल आउने विदेशी, नेपाली वा गैरआवासीय नेपालीले १४ दिनसम्म आफै अलग वा घरभित्रै क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment