नेपाल प्रहरीको २७ औं आईजी बने ठाकुर ज्ञवाली

काठमाडौं । हाल प्रदेश नम्बर १ को प्रहरी प्रमुख रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुर प्रसाद ज्ञवाली नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजी)मा नियुक्त भएका छन् । प्रहरी सेवाका निर्विवाद अधिकृतका रुपमा चिनिएका ज्ञवालीलाई मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहेका ज्ञवालीलाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षमा बढुवा गरिएको हो ।

२५ असार २०४७ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गरेका ज्ञवालीले महानिरीक्षक बन्दा आफ्नै ब्याचका २ जना प्रतिस्पर्धीलाई उछिनेका हुन् । अन्य २ जना डीआईजीहरु तारणि लम्साल र सूर्य उपाध्यायलाई उछिन्दै ज्ञवाली महानिरीक्षक बन्न सफल भएका छन् ।

हालका आईजी सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधिका कारण मंगलबारबाट अनिवार्य अवकासमा जाँदै छन् । २९ माघ २०४६ मा इन्सपेक्टरबाट सेवा प्रवेश गरेका खनाल २७ चैत २०७४ को मन्त्रिपरिषद बैठकको निर्णयानुसार प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट महानिरीक्षक (आईजी)मा बढुवा भएका थिए । खनालसँगै ३० वर्षे सेवा अवधिका कारण ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात पनि अनिवार्य अवकासमा जाँदै छन् । यसबाहेक खनालसँगै सेवा प्रवेश गरेका अन्य १९ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरु पनि बुधबारबाट अनिवार्य अवकासमा जाँदै छन् । प्रहरीको नयाँ महानिरीक्षक बनेका ज्ञवाली प्रहरी नियमावली २०७१ मा रहेको ३० वर्षे सेवा अवधि कायमै रहे २४ असार २०७७ सम्म मात्रै सेवामा रहनेछन् ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment