साम्राज्यवादको सनक

अमेरिकी साम्राज्यवादको दादागिरीको सिकार नहुने समाजवादी राष्ट्र विश्वमा विरलै होलान् । चाहे त्यो उत्तर कोरिया होस् वा क्युवा, भेनेजुयला होस् वा जनवादी गणतन्त्र चीन–यी सबैसबै राष्ट्रमा साम्राज्यवादले दाह्रा, नङ्ग्रा गाड्न खोजेकै हुन्छ ।

आफूलाई प्रजातन्त्रको पर्याय ठान्ने उक्त देशको कोपभाजनमा यतिबेला भेनेजुयला र विशेष गरी त्यहाँका राष्ट्रपति निकोलस मडुरो परेका छन् । सद्दाम हुसेनलाई फासीवादी देख्ने अमेरिकी लेन्समा जसरी तेल हडप्ने स्वार्थले काम गरेको थियो ठीक त्यस्तै भएको छ अहिले भेनेजुयलामा । त्यहाँका राष्ट्रिय सभा अध्यक्ष जुआन गुआइडोलाई उचालेर उसले ६८% बेसी जनमत प्राप्त गरी यही जनवरी १० मा दोश्रो कार्यकालको सपथ ग्रहण गरेका वैधानिक राष्ट्रपतिलाई अवैधानिक घोषणा गरी आफ्नो अप्रजातान्त्रिक र तानाशाही नकाव पुनः एकपटक उदाङ्गो पारेको छ । बाजले कुखुरा झम्टेझैं संसारका समाजवादी नेतालाई झम्टने लत लागेको अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोलाई हत्या गर्ने प्रयास ४०० भन्दा बढी पटक गरेको समाचार यो भन्दा पहिले नै सार्वजनिक भइसकेको छ । त्यसो त मडुरो राष्ट्रपतिमा निर्वाचित हुनासाथ निर्वाचनकै वैधतामा प्रश्न उठाएका थिए, अमेरिका र उसका मतियार राष्ट्रहरुले । पूर्व बस चालक मडुरो हस्तक्षेपकारी तानाशाह हुन् भनेर जसरी सामान्य पेशा अँगाल्ने व्यक्तिलाई हेप्ने कुचेष्टा गरेको छ अमेरिकाले, ऐनमौकामा यसको महङ्गो मूल्य नचुकाई धरै छैन उसलाई । अरु त अरु मडुरोलाई सिध्याउनका निम्ति उसले त्यहाँको सैन्य पङ्क्तिसँग एक वर्षको अवधिमा दर्जनौं भेटघाट गरेको खुलासा भइसकेको छ ।

अनेक प्रलोभन देखाउँदा समेत सैन्य विद्रोह गराउन नसकेको अमेरिकाले मडुरोलाई अपदस्थ गर्न भेनेजुयलालाई आर्थिक नाकाबन्दी गर्ने र उसको कच्चा तेल खरिद नगर्ने नीति अख्तियार गर्न लागेको छ । तल्लो पदमा रहेका सैन्य पङ्क्तिलाई उचाल्ने दुस्प्रयासमा ऊ अझै कम्मर कसेर लागेको कुरा पनि कहींकतै छिपेको छैन । त्यसो त त्यहाँको शिशु समाजवादको गला रेट्न सके चीन र रुसलाई अप्रत्यक्ष रुपमा सन्त्रस्त पार्न सकिन्छ भन्ने आकलन छ अमेरिकाको भलै त्यो पानीको फोकासरि नै किन नहोस् । अन्यथा गुआइडो नेतृत्वको सरकार नै भेनेजुएलाको एकमात्र वैधानिक सरकार हो भनेर दिउँसै रात पार्ने विज्ञप्ति जारी गर्ने आँट गर्दैनथ्यो अमेरिकाले । उसको यो कदमले साम्राज्यवादको कर्तुत त पर्दाफास भएकै छ, अमेरिकी प्रजातन्त्रप्रति आस्था राख्नेलाई पनि यसले झड्का दिएको हुनुपर्छ । नेपालका प्रजातन्त्रको आवरणमा अमेरिकाको दलाली गर्नेहरुको सक्कली अनुहार चिन्न पनि मान्छेहरुलार्ई सहज भएको छ । जसले अमेरिकालाई प्रजातन्त्रको आदर्श मान्थे, तिनको मलिन चेहरा पनि हेर्न लायकको हुनेछ, यो घटना लगायतका अन्य घटनाहरुले ।

निकोलस मडुरोल घोषणा गरेकै हुन् – ‘भेनेजुयेलीहरुको एक अर्कालाई सुन्ने र सम्वाद गर्ने लामो इतिहास छ । यहाँ यस्ता मुक्तियोद्धाको जन्म भएको छ जसले विनाहिच्किचाहट असल राजनैतिक पद्धति र संस्कार स्विकार्छन् । निरास र हतास नभई त्यही कुरा हामीले संसारलाई अवगत गराउनु पर्नेछ । तर झण्डै ३० लाख जनताले गत वर्षमात्र देश छोडेको तथ्याङ्क प्रस्तुत गरेर उनलाई कमजोर सिद्ध गर्न खोजिएको मात्र छैन १० लाख भन्दा बढी भेनेजुयेली छिमेकी देश कोलम्बियामा शरणार्थी भएको मिथ्याङ्कसमेत अघि सारिएको छ ।

नयाँ क्रान्ति तेलबाट गर्नुपर्छ भनेर मडुरोले प्रतिवद्धता जनाइरहेका बेला उनलाई अपदस्थ गर्ने र एउटा समाजवादी राष्ट्रको स्वाधीनतामाथि खेलबाड गर्ने अमेरिका लगायत चानचुन एकदर्जन अन्य देशको असली नियत त संसार सामु छर्लङ्ग हुने नै छ । जस्तो व्यवहार क्युवाली नेता फिडेल क्यास्ट्रोले भोगे आफ्नो जीवनभर ठीक त्यसरी नै खनिने तयारीमा छन् अमेरिकी पिछलग्गु राष्ट्रहरु, अमेरिकीसँग हतियार बनेर मडुरोमाथि । तीमध्ये धेरैलाई मडुरो को चाभेज नीति र भेनेजुयलाको प्रगति मन परेको छैन भने अमेरिकाको चाहिँ तेल कब्जा गर्ने नीति नै हो । अमेरिकी राष्ट्रपति ट्रम्पले त आक्रमण गर्ने चेतावनी नै दिएका छन् मडुरोलाई तर प्रतिवादमा उत्रेका छन् चीन र रुस । अमेरिकाले आक्रमण गर्दै गर्दा आफू हात बाँधेर नबस्ने चुनौती दिएका छन् रुस र चीनले, भेनेजुयलाको स्वाधीनताका निम्ति । विडम्बना त यो छ कि जननिर्वाचित राष्ट्रपतिलाई सत्ताच्युत गर्नका निम्ति सैन्य आक्रमण गर्छु भनेर खुलेआम बोल्दा समेत मौनता साँध्ने वा अमेरिकाकै पक्षपोषण गर्नेहरु पनि आफूलाई घनघोर प्रजातान्त्रिक दावी गरिरहेछन् ।

जब जब तेलको मूल्य अकस्मात ह्वात्तै घट्यो र चुहावट नियन्त्रण गर्न मडुरोलाई हम्मे हम्मे प¥यो, ठीक त्यही घडीमा भेनेजुयेली सार्वभौमसत्तामाथि धावा बोलिएको छ । मडुरोले आफ्ना सीमा स्विकार्दै घोषणा गरेका छन् –‘भेनेजुयलालाई आर्थिक रुपान्तरण जरुरी छ जसलाई हामीले इमान्दारीपूर्वक पूरा गर्नुपर्छ । किन्तु हामी लाखौं शुभेच्छुक र र भेनेजुयलालाई माया गर्नेहरु देशभक्त बन्नै पर्दछ ।
अबको स्वाधीनताको लडाइँमा यदि मडुरोले पराजय भोगे भने भेनेजुयलाका दुःखका दिन सुरु हुनेछन् र स्वाधीनताका दिन समाप्त हुने छन् । भेनेजुयला लगायत अन्य राष्ट्रले यो बुझ्नु जरुरी छ कि कुनै दिन सिरियाली जनता र सार्वभौमसत्ता ध्वस्त पार्ने अमेरिकी सामाज्यवाद कुनै बेला जोकोही माथि जाइलाग्न सक्छ । जब शक्ति उन्मादले विक्षिप्त वन्छन् ट्रम्पहरु तब अर्काको अस्तित्व स्विकार्ने आँट गर्दैनन्

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment