तीन दशक विद्यालयमा काम गरेका खिमबहादुर सडकमा बस्न बाध्य

श्री शान्ति प्राथमिक विद्यालय तीन वर्षअघि नजिकैको बालकल्याण माविमा गाभियो । स्थायी र दरबन्दी शिक्षकलाई जागिरको चिन्ता हुने कुरै भएन । उनीहरु अरु स्कुलमा गए । विद्यार्थी पनि आफूलाई पायक पर्ने नजिकका विद्यालयमा गएर पढ्न थाले । सबै आआफ्नो बाटो गएपछि अप्ठारोमा परे, खिमबहादुर थापा ।

विद्यालय सहयोगी भएर करिब तीन दशक काम गरेका थापाको जाने कुनै बाटो भएन । ६५ वर्ष भएका उनको जीवन बाँच्ने आधार नै चुडियो । टेक्ने लौरो, समाउने हाँगो नै भाँचियो । स्कुलको काम छाड्नु परेपछि कहाँ जाने कुनै मेसो पाएनन् । बिचल्लीमा परे । त्यसपछि गाउँमा मागेर हिड्नेबाहेक उनको कुनै उपाय भएन ।

बेँसीसहर नगरपालिका, २ जोगिकुलास्थित श्री शान्ति विद्यालय २०७२ साल साउन १७ गते बालकल्याण माविमा गाभिएको थियो । ०१२ सालमा स्थापना भएको विद्यालयमा तीन जना शिक्षक कार्यरत थिए । विद्यार्थी थोरै भएपछि दुई विद्यालय गाभिएको हो । यससँगै खिमबहादुरको जागिरे जीवन आफै हट्यो ।

विंसं। २०४१ साल फागुन १ गतेदेखि मासिक एक सय ५० रुपैयाँमा काम सुरु गरेका खिमबहादुरलाई तत्कालीन प्राधानाध्यापक देवीप्रसाद बरालले नियुक्तीसँगै जागिर दिएका थिए । उनले त्यही नियुक्ती पत्रले ३१ वर्ष काम गरे । २०७२ सालमा जागिर छोड्दा उनको तलब दुई हजार पुगेको थियो । तर, अब उनको पैसा आउने बाटो मेटियो । करिब तीन दशक सरकारी स्कुलमा काम गरे पनि उनको जीवनमा सबै तहसनहस भयो । यतिका वर्ष सरकारको काम गरे तर, कहिले सरकारी मान्छे बन्न सकेनन् ।

उनी विद्यालयमा सहयोगीका रुपमा गए पनि परिआए पढाउने गर्थे । शिक्षक नआएका बेलामा उनी आफै शिक्षक बन्थे । उनले स्कुलमा गणित, अंग्रेजी साथै अरु विषयसमेत पढाउने गरेको स्थानीय सूर्यबहादुर थापाले बताउछन् ।

जवानी उमेर स्कुलका बालबालिकासँग बिताएका उनी अविवाहित हुन् । दिदीबहिनी विवाह गरेर गएसँगै उनी एक्लै भए । विद्यालयबाट आउने पैसाले गुजारा चलाउँदै आए । तर, उनी विगत तीन वर्षदेखि सडकमा आफ्नो जीवन खोज्दै आएका छन् । विद्यालय एक भएसँगै तत्कालीन प्रधानाध्यापक विष्णुबहादुर धितालले खिमबहादुरले पुर्‍याएको योगदानको कदर गर्दै राज्यको गलत नीतिबाट शिकार भएको बताए ।

अहिले उनी शारीरिक रुपमा अशक्त भएका उनको बस्ने ठाउँ छैन । घरको नाममा भएको कटेरो भत्केको दश भयो । बाटो खनेपछि पहिरोले कटेरो भत्केको उनी बताछन् । ‘कटेरो भत्केपछि ठुला मान्छेले केही पैसा दिन्छु भनेको थियो, तर अझै नपाएको उनले गुनासो गरे ।
करिब तीस वर्ष सरकारी विद्यालयमा बिताएर रित्तो हात निस्केका खिमबहादुर भन्छन् ‘रोगी छु उपचार पाए हुन्थ्यो, गरिब छु खानाबस्न पाए पुग्छ, अरु केही चाहिँदैन ।’ (नयाँ पत्रिका)

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment