यसरी रुदै विदा भए कानुनमन्त्री तामाङ

कानूनमन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिका कारण विवादमा मुछिएपछि नेकपाले पदबाट राजीनामा दिएको निर्देशन अनुसार उनले राजीनामा दिएका हुन ।
मन्त्री तामाङ ले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएका थिए । सो क्रममा उनी एकदमै भावुक समेत बनेका थिए । उनले जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःख व्यक्त गरे ।

पत्नी उषाकला राईसँगै उपस्थित भएका भने, ‘नेपाली नारीहरुप्रति सम्मान गर्छु, कोही पनि नारीमाथि हिंसा हुनुहुन्न भन्ने मान्छु ।’ महिलाहरुको हक अधिकारका लागि काम गरेको आफूलाई त्यही विषयले लखेटेको उनले सुनाए । ‘जे विषयमा निरन्तर लागिरहेको हु्न्छ, त्यही विषयले लखेट्ने दिन पनि आउँदो रहेछ’ उनले भने ‘अरु कसैलाई यस्तो नपरोस् ।’

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य भएको दाबी गरेका थिए ।

मन्त्री तामाङले मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा तयार भइसकेको उनले जानकारी गराए । ‘मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा कानून अगाडि बढेको छ । यो क्याविनेटको बाटो हुँदै संसदबाट पारित हुन्छ’ उनले भने ‘यी कानुनहरु असोज २ गते मध्यरातसम्म पारित हुन्छ ।’

पत्रकार सम्मेलनमा विज्ञप्ति वाचन गर्दागर्दै उनी अचानक भक्कानिए र केहीबेर बोल्न सकेनन् । सम्हालिएर बोल्न खोजे तर सकेनन् । केहीबेरपछि उनले भने, ‘असुविधाका लागि क्षमा चाहन्छु ।’

‘डा. उपेन्द्र देवकोटा क्यान्सरको उपचार गर्थे तर आफैँ क्यान्सर भएर जानुपर्‍यो । भ्रष्टाचार अन्त्यका लागि कानूनी उपचार गर्नुपर्छ भनेर लागिरहेँ । तिनैले आज मलाई लखेटे’ यसो भन्दा पनि उनी भावुक बने ।

आफू कानुन मन्त्री भएपछि न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने निर्णय गरेको र नगर्ने ३२ जनालाई ५ हजार जरिवाना गराएको उनले सुनाए । अब संसदमा रहेर पनि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गराउने र कानून पारित गराउन दत्तचित्त भएर लागि पर्ने प्रतिवद्धता छ । यस्तो प्रतिवद्धता जनाइरहँदा पनि फेरि भावुक भए ।

राजीनामा दिँदै गर्दा धेरै भावुक हुनुभयो नि भन्ने प्रश्नमा उनले भने, ‘म अलिअलि भावुक मान्छे पनि हुँ । यो भावनात्मक कुरालाई साथीहरुले त्यही ढंगले बुझिदिनुहोला भन्ने अनुरोध पनि गर्छु ।’

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment